A satirical take on the internal conflict within the Nepali Congress party. The 'Establishment' faction tries to be flexible to accommodate the General Secretaries (Gagan Thapa & Bishwa Prakash Sharma), but it seems the backbone is breaking before a consensus is reached! Published in Naya Patrika.
काठमाडौंको चिसो सिरेटो चिसोपनको आफ्नै कीर्तिमान तोड्ने जुलुममा बतासिरहेको थियो । तर, देउवाजीको बेडरुमको तापक्रम अचम्मले बढेको थियो । चैत–वैशाखको धुपमा झैँ खलखली पसिनाले अनुहार भिजेको थियो । उनी घरी कपीले अनुहार हम्किन्थे । घरी कोल्टे फिर्थे । घडीले रातको १ बजायो, तर देउवाजीको आँखामा निद्राको ‘न’ पनि थिएन । उनलाई सिरकको भार पनि पहाड खसेर थिचेजस्तो भइरहेको थियो । बाहिर कुकुर भुकेको आवाज आउँदा पनि उनलाई लाग्यो– कतै थापाजी र शर्माजी ‘विशेष महाधिवेशन’को माइन्युट बोकेर गेटमै त आइपुगेनन् ?
उसैपनि मान्छे जब सुत्छ । तब मन सोच्छ – संसारभरिको समस्या समाधान गर्ने समय यही हो । त्यो देखेर निद्राले छेउ आउने हिम्मतै गर्दैन । देउवाजी त त्यसै पनि तनावमा थिए । तनावको स्रोत थियो– ‘पर्सि २७ गतेको विशेष महाधिवेशन ।’
यो मिति देउवाका लागि जेमराज सरको क्यालेन्डरमा रातो मसीले लेखिएको मितिजस्तै भइरहेको थियो । ज्योतिषले सातचोटि प्रधानमन्त्री हुन्छन् भनेर त भन्यो, तर आफ्नै महामन्त्रीले बिचबाटोमै ‘ढाट’ तेस्र्याउलान् भन्ने त भनेको थिएन । तनावको ग्राफ बढ्दै गयो । तनाव साट्ने भरपर्दा कोही भएन ।
अन्त्यमा, उनले आफ्नो ‘संकटको साथी’ सम्झिए । जो संसद् विघटन गर्दा होस् वा मध्यरातमा समीकरण फेर्दा होस्, कहिल्यै ‘नर्भस’ भएको रेकर्ड छैन । आन्दोलनमा पनि आफूले कुटाइ खाइयो । उनी नडराई भागे । फर्केर आएर नडराई भागेको छैन भने । देउवाजीले काम्दो हातले मोबाइल फुन हातमा लिए र बालकोटको हटलाइन नम्बर डायल गरे ।
‘मेरो दुस्मन छ धेरै, दुस्मन हेरेको हेर्यै’ फोन गयो । रिङटोन नि दुर्गेशको गीत राखेका रहेछन् । एकपटक, दुईपटकको डायलमा फुन उठेन । तेस्रोपटकमा उताबाट आवाज आयो ।
‘हलो ! यो मध्यरातमा कुन ज्यामादुतको काम हो यो ? एमालेको सूर्य अझै उदाउने वेला भा’छैन यहाँ । को हो हँ ?’
स्वर उही थियो– अलिकति ठट्टेउलो, अलिकति रुखो, अलिकति दम्भले भरिएको र अलिकति सुतेको । केपी शर्मा ओली ।
‘ए...ए...... ओली जी ! म हो क्या भन्देखुनलाइ शेर ! आवाज नि के भैरहेछ बाबा शेरबहादुर के’ देउवाजीको स्वर खानी तथा भूगर्भ विभाग पुगेको भए त्यहाँ कम्तीमा नि ६ रेक्टर स्केलको भूकम्प मापन हुन्थ्यो ।
ओलीले उताबाट लामो सास फेरे । ‘ए शेरबहादुर जी ! म त कुनचाहिँ ‘जेनजी’वालाले तर्साउन फोन गरेछ भन्ठानेको । के भो हँ ? ज्योतिषले फेरि सेक्टेम्बर ९ को साइत निकाल्यो कि क्या हो ?’
‘हैन ओलीजी, यहाँ बर्बाद भइसक्यो । यत्रो बर्बादीमा कसरी निद्रा लाग्छ यार ? हाम्रा महामन्त्री केटाहरू पर्सि २७ गते महाधिवेशन गर्ने भनेर लागेका छन् । लौन, के गरुँ ? केही ‘बालकोटे फर्मुला’ दिनुपर्यो ।’
यो सुनेर ओलीजी जुरुक्कै उठेको अनुमान लगाउन सकिन्थ्यो । उनको स्वरमा अब निद्रा होइन, राजनीतिको ‘क्याफिन’ चढिसकेको थियो ।
‘धत् ! शेरबहादुर जी ! तपाईं पनि कति कच्चा खेलाडीजस्तो कुरा गर्नुभा’ ?’ ओलीजीले क्लास सुरु गरे, ‘केटाकेटीको कुरामा डराउने ?
‘वनको शेरले खाओस् नखाओस्, मनको शेरले खायो’ भनेको यही हो । राजनीति भनेको लुँडो होइन शेरबहादुर जी, जहाँ गोटी काटिएला भनेर डराउने । यो त चेस हो चेस ! अनि चेसको बोर्डमा घोडा जति नै उफ्रिए पनि केही हुन्न ।
‘तपाईंलाई त सजिलो छ नि केपी जी,’ देउवाले गुनासो पोखे, ‘तपाईंको पार्टीमा ‘बा’ भनेपछि सकियो । आँखा जुधायो कि गयो । भीम रावलजीलाई बोरामा हालेर नेकपातिर निर्यात गर्नुभो । साक्षात ईश्वरलाई भित्ताको पोस्टरमा सीमित बनाइदिनुभो । तर मेरोमा ? यहाँ त प्रजातन्त्रको नाममा मलाई नै ‘प्रजा’ बनाउन खोज्दै छन् । यी दुई भाइलाई कसरी तह लगाउने ?’
‘हेर्नुस्, यसको एउटै उपाय छ– पेल्नुस् !’ ओलीले सूत्र दिए ।’ घरको झगडा पेलेरै मिलाउने हो ।’
‘कुरा त हो, सम्मस्से यति मात्रै छैन । देउवाजीले भन्नुभो–
‘घरको झगडा त मिलाउँला । बाहिरका तीन केटाहरू नि मिले भन्ने सुन्नमा आछ । ? चुनावपछि त हामी पुरातत्वतिर सरुवा हुन्छौँ कि क्या हो ?’
ओलीको खित्का बालकोटको देउवालयसम्म गुन्जियो । ‘हा हा हा ! तपाईंले मलाई हँसाउनुभो । कुन नयाँ शक्तिको कुरा गर्नुभा ? ती ‘पानी फोका’ हरू ?’
‘पानीको थोपा भन्नुहुन्छ ।’ देउवाजीले भन्नुभो, ‘मलाई त जनैखटिराको फोकाजस्तो भैराछ । जनता तिनीहरूकै पछि छन् जस्तो लागिरा’छ । त्यो घण्टीवालाको घण्टीले मेरो कान खाइसक्यो ।’
‘कुन घण्टी ? घण्टी बजाउन त मन्दिर पो जाने हो । सरकारमा जाने हैन नि ?’ ओलीजीले भने, ‘हेर्नुस् त तिनको हालत ! सूची हेर्नुभा’छ ? समानुपातिकमा को परे ? सम्धी, भान्जा, छिमेकी ! हामीले त कम्तीमा यस्तो अलिअलि लाज मान्दै, लुकिछिपी गथ्र्यौँ । यिनेरु त सीधै ।’
ओलीले थपे, ‘शेरबहादुर जी, ढुक्क हुनुस् । खत्तम बन्नमा यिनीहरूले हामीलाई जित्न सक्दैनन् । हामी त ‘प्रोफेसनल’ हौँ, यिनीहरू ‘सिकारु’ हुन् । सिकारुले गरेको गल्ती चाँडै देखिन्छ । हाम्रो गल्तीलाई त हामीले ‘नीतिगत निर्णय’ भनेर लुकाउन जानेका छौँ ।’
देउवाले अलिकति राहत महसुस गर्दै अर्को पात्रको नाम लिए, ‘अनि त्यो गुलुपमान नि ? रास्वपाको वरिष्ठ उपाध्यक्ष हुने रे, तर मन्त्री चैँ नछोड्ने रे ! यो कस्तो काइदा हो केपी जी ?’
‘लौ हेर्नुस् !’ ओली पड्किए, ‘त्यही त म भन्दै छु । कुर्सीमा फेबिकोल लगाएरै बसेको भनेर मान्छेहरू हामीलाई ‘पद लोलुप’ भन्थे । यिनीहरू त फेबिकोल होइन, सिमेन्ट नै लगाएर कुर्सीमा टाँसिएका छन् । पार्टीको उपाध्यक्ष पनि बन्ने, मन्त्रीको झन्डा पनि हल्लाउने ! यो त ‘दुवै हातमा लड्डु, जिब्रोमा चाहिँ रसबरी’ भनेजस्तो भयो ।’
ओलीले अझ गहिरो विश्लेषण सुनाए, ‘हेर्नुस् शेरबहादुर जी, नैतिकताको भाषण गर्नेहरू नै जब अनैतिक काम गर्न थाल्छन् नि, तब जनताले फेरि हामीलाई नै खोज्छन् । जनताले भन्नेछन्न्– ‘बरु ती पुराना बुढाहरू नै ठिक थिए, कम्तीमा लुकेर त गर्थे । यी नयाँ जोगीले त खरानी मात्र होइन, पूरै कोइला घसेर आए ।’ जति यिनीहरू बिग्रन्छन, उति हाम्रो इज्जत बढ्छ । तर, हामीजस्तो टिक्न सक्ने छैनन् । हेर्नुस् त राजीनामा दिसके । तरिका हो ?’
देउवाजीले फेरि सोधे– त्यो बब्लु कि डब्लु भन्ने मन्त्रीको कुरा नि ? अमेरिका जाने काण्ड ? निम्तो नि नक्कली भन्दै छन् त ।’
ओलीजीले भने, ‘एकपल्ट अमेरिका जान देऊ, अनि मन्त्री छोडौँला’ रे ! मन्त्री पद भनेको बयलगाडा हो ? चढेर अमेरिका जान ?’
निष्कर्ष निकाले, ‘यो ‘बब्लु प्रवृत्ति’ नै हाम्रो जितको आधार हो । विनाबयलगाडा अमेरिका जान खोज्नेले देश बनाउँछन् ? वाहियात !
‘अनि त्यो मेयर शाह त कसैलाई टेर्दैनन् नि । कतै भोट माग्न नि जाँदैनन् । घरदैलो छैन, आमसभा छैन । उसले पो हामीलाई सिध्याउने हो कि ?’ देउवाजीले भने– सुतेरै सक्यो भने त बिजोग भो नि ।’
ओलीले यसलाई सीधै खारेज गरिदिए ।
‘फेसबुकमा स्टाटस लेखेर भोट आउने भए त आज डोनाल्ड ट्रम्प हैन, फेसबुककै मालिक जुकरबर्ग अमेरिकाको राष्ट्रपति हुन्थे ।’
ओलीले थपे, ‘नयाँ जोगीले खरानी धेरै घस्छ’ उसले राम्रै घस्न जानेको छ । खैर केही छैन पछि आफैँ टक्टकाउनुपर्छ ।’
संवादको अन्त्यतिर ओलीले देउवालाई ‘राजनीतिक एन्टिबायोटिक’ दिए ।
‘ल सुन्नुस् शेरबहादुर जी, अब धेरै नडराउनुस् । केटाकेटीको डरले आफैँ केटाकेटीजस्तो कुरा गरेर हुन्छ ? महामन्त्रीहरू कराउँदै गर्छन् जंगलको राजा शेर लम्किँदै गर्छ ।
‘अनि ती नयाँलाई के गर्ने ?’
‘तिनलाई आपसमा लड्न दिने,’ ओलीजीले भने, ‘रविले कुलमानको खुट्टा तान्छन्, कुलमानले बालेनको । हामीचाहिँ बार्दलीमा बसेर चिया पिउँदै तमासा हेर्ने । अनि मौका मिल्नासाथ दुई भाइ मिलेर नयाँ सरकारको ‘सेटिङ’ मिलाउने । सत्ताको तर त हामीले नै खाने हो शेरबहादुर जी, यिनीहरूलाई त कचौरा चाट्न दिने हो ।’
देउवाजीको मन अब पूरै हलुका भइसकेको थियो ।
‘तपाईं त मान्नैपर्ने मान्छे हो केपी जी,’ देउवा खुसीले गदगद भए, ‘तपाईंसँग कुरा गरेसी निदाउने बल आयो । ल जय नेपाल !’
‘ल ल, जय नेपाल !’ ओलीजीले भने, ‘विशेष महाधिवेशनको बाजा र घण्टी बजेको सुनी नातर्सिनुहोला ।’
फोन काटियो ।
देउवाजी ओछ्यानमा पल्टिए । अब उनलाई २७ गतेको डर थिएन । महामन्त्रीहरूको अनुहार धमिलो भइसकेको थियो । ओलीजीकै कुरा सम्झी मुसुमुसु हाँसे । बाहिर कुकुर भुक्न बन्द भइसकेको थियो । सायद उसले पनि बुझ्यो– यो देशमा पुराना खेलाडीहरूको ‘सेटिङ’को पर्खाल नाघ्न अझै गाह्रो छ ।