काठमाडौँको कोलाहलबिच ठमेलको छाया सेन्टरको माथिल्लो तल्लाले यतिवेला एउटा गहिरो मौनता पर्खिरहेको छ । ‘द कला सालोन’मा चलिरहेको कलाकार संगी श्रेष्ठको ‘अन्तर्दृष्टि’ नामको एकल कला प्रदर्शनीले दर्शकलाई त्यही मौनता र आत्मचिन्तनको गहिराइमा लैजाने प्रयास गर्छ । क्युरेटर सोफिया एल. पाण्डेको परिकल्पनामा तयार भएको यो प्रदर्शनी कलाकार श्रेष्ठको दुई वर्ष लामो कला साधनाको प्रतिफल हो ।
संगी श्रेष्ठको चित्रकला शैलीमा आधुनिकता र आध्यात्मिकताको सन्तुलन भेटिन्छ । उनका चित्रहरूमा दर्शकले क्यानभासको कुनामा यसो हेरेर ‘होइन, कलाकारको सिग्नेचर कता छ ?’ भन्दै खोजिरहनुपर्दैन । सिंगो पेन्टिङको शैली, त्यसमा प्रयोग भएका आयात, वर्ग, सर्कल र बहुभुजजस्ता ज्यामितीय आकार र पात्रका बिस्तारै खुलेका आँखाको भाव नै उनको बलियो ‘सिग्नेचर’ हो ।
चित्रकला र सिरेमिकबिचको गहिरो अन्तरसम्बन्ध यस प्रदर्शनीको बलियो पक्ष हो । यहाँ यी दुई विधा छुट्टाछुट्टै अस्तित्वमा छैनन् । क्यानभासमा कोरिएका आकृतिहरूको ठ्याक्कै प्रतिछाया सिरेमिक्समा देखिन्छ । सिरेमिक्स कलालाई हेर्दा आफैँमा एउटा पेन्टिङजस्तो लाग्छ ।
एउटै विचारलाई समतल क्यानभास होस् वा त्रि–आयामिक माटोमा होस्, दुई फरक माध्यम उत्तिकै सन्तुलनका साथ उतार्न सक्नु कलाकारको खुबी हो ।
"सिरेमिक कला केवल माटो मुछेर सिर्जनात्मकता देखाउने विधा होइन । यसको आफ्नै जटिल प्रविधि र विज्ञान छ ।"
कलाकार श्रेष्ठ भन्छिन्, ‘पोलेपछि आउने परिवर्तनसम्म विचार गरेर रङ गर्नुपर्छ ।’ तापक्रम परिवर्तन हुँदा रङको रसायन नै बदलिने यो विधामा केवल कल्पनाले मात्र पुग्दैन । लामो अनुभव, निरन्तरको ‘एक्स्पेरिमेन्ट’ र ठुलै धैर्यको जरुरत पर्छ । यसको महँगो माध्यम पनि चर्चायोग्य छ । प्रदर्शनीमा राखिएको केही सिरेमिक ‘पट’ जसको भित्री भागमा ‘गोल्डेन कोट’ लगाइएको छ । त्यो केवल रङ होइन, कलाकार श्रेष्ठ यसमा सुनको अंश हुने बताउँछिन् । यसले माटोको सामान्य स्वरूपलाई बहुमूल्य कलाकृतिमा रूपान्तरण गरिदिएको छ ।
प्रदर्शनीको अर्को मुख्य आकर्षण भनेको हलको बिचमा टेबलमा सिसाको बक्सभित्र राखिएको मसीले बनाइएको लामो कलाकृति हो । इजिप्ट बस्दा कलाकारले हरेक दिन सिर्जना गरेको यो डायरी–शैलीको कलाकृति एउटै लामो पेपरमा कोरिएको छ । यसले एक सर्जकको दैनिकी, उसको शिल्पप्रतिको इमानदारी र कामप्रतिको निरन्तरको अनुशासनलाई झल्काउँछ । यसको ‘डिस्प्ले’ तरिका पनि निकै कलात्मक छ ।
उनका चित्रहरूमा দেখिने नारी आकृतिलाई क्युरेटर पाण्डेले ‘आधुनिक शक्ति’को संज्ञा दिएकी छिन् । पाण्डे भन्छिन्, ‘यी पात्रहरूको आधा खुलेको आँखाले बाहिरी संसारलाई होइन, जागृत आन्तरिक चेतना’लाई नियालिरहेको भान हुन्छ ।’ यसपटक संगीले चम्किला रङहरूको सट्टा गाढा र सौम्य रङहरूको प्रयोग गरेकी छिन्, जसले उदासी होइन, बरु दृढता र रूपान्तरणको रहस्य बोकेका छन् ।
यस प्रदर्शनीको सबैभन्दा ठुलो र बिझाउने कमजोर पक्ष भनेको यसको प्रदर्शनी स्थान हो । छाया सेन्टरजस्तो ‘भीमकाय’ व्यापारिक कम्प्लेक्सको कुन कुनामा, कुन टुप्पामा यो नयाँ आर्ट ग्यालरी छ भनेर सामान्य कला–प्रेमीले अनुमान करना सक्दैनन् । ग्यालरी त्यहाँ छ भन्ने कुरा धेरैलाई थाहै छैन । जो पायो त्यो मानिस त्यहाँसम्म पुग्दै पुग्दैन । स्क्यालेटरबाट छाया सेन्टरको आँगनको चहलपहल हेर्दै तला उक्लिन रमाइलै हुन्छ ।
ग्यालरीभित्र प्रवेश गरिसकेपछि पनि ‘सेटिङ’ र प्रकाश व्यवस्थापन उतिबिघ्न गतिलो छैन । एउटा आर्ट ग्यालरीको प्रकाशले कलाकृतिलाई उजिल्याउनुपर्ने हो, तर यहाँ त्यस्तो सन्तुलन पुगेको देखिँदैन । सबैभन्दा खड्किने कुरा त ग्यालरीको छाना हो । छानाको असरल्ल फलामका डन्डीले दर्शकको ध्यान कलाकृतिबाट नराम्ररी भंग गर्छन् । ध्यानस्थ र शान्त कलाकृति हेरिरहँदा माथि देखिने ती निर्माण–अधुराजस्ता लाग्ने फलामका डन्डीहरूले भिजुअल अनुभवलाई नराम्ररी बिथोल्छन् ।
त्यो भीमकाय भवन कसको हो थाहा छैन, तर भवन जति ठुलो छ, भवनवालाको चित्त असाध्यै सानो देखिन्छ । ग्यालरीमा कला हेर्न जाने दर्शक वा त्यही भवनमा जाने ग्राहकलाई पार्किङ शुल्क ठटाइरहेको भेटिन्छ । त्यो पनि अन्य ठाउँकोभन्दा तेब्बर । भुक्तानी गर्ने काउन्टरमा दर्शकले भोग्नुपर्ने मानसिक सास्ती झनै उदेकलाग्दो छ । केही गरी तपाईंसँग खुद्रा पैसा छैन भने तपाईंले कर्मचारीबाट चिसो व्यवहार र अपमान खेप्नुपर्छ । डिजिटल पे गर्छु भन्नुभयो भने झनै ठुलो सजाय भोग्नुपर्छ । तपाईंले आफ्नो फोनबाट रकम काटिएको र सेन्ड भएको स्लिप देखाएर मात्र पुग्दैन । उनीहरूको फोनमा रकम पुगेको ‘नोटिफिकेसन’ नबजुन्जेल तपाईं त्यहाँ कठघरामा उभ्याइएको अपराधीझैँ जिल्ल परेर उभिरहनुपर्छ । त्यहाँ जब नोटिफिकेसन बज्छ, तब मात्र तपाईं त्यहाँबाट रिहा हुनुहुन्छ । एउटा शान्त कला हेरेर निस्केको दर्शकले पार्किङको बेसमेन्टमा आइपुग्दा आफ्नो सम्पूर्ण शान्ति र ऊर्जा गुमाइसक्छ ।
आगामी दिनमा कलाकार, क्युरेटर र आयोजकले ग्यालरी छनोट गर्दा ठाउँ पहुँचयोग्य छ कि छैन ध्यान दिनु जरुरी छ । कला सबैको पहुँचमा हुनुपर्छ, केवल खरिदकर्ताको ड्रइङ रुममा झुन्डिनुअघिको ‘प्राइभेट सो’ जस्तो मात्र बन्नुहुँदैन ।
यस प्रदर्शनीमा र समग्र नेपाली कला क्षेत्रमै देखिएको अर्को समस्या ‘अनटाइटल’ अर्थात् शीर्षकविहीन चित्र हुन् ।
संगी श्रेष्ठले यी कलाकृति सिर्जना गर्न दुई वर्षको कडा मिहिनेत र साधना खर्चिएकी छिन् । तर, यति धेरै मिहिनेत पोखिएको कलाकृतिलाई एउटा सानो ‘शीर्षक’ दिन उनी र उनीजस्ता अधिकांश नेपाली कलाकार किन झिँजो मान्छन् ? दर्शकले चित्र हेरेर आफैँ अर्थ लगाऊन् भन्नु अल्छीपना हो । शीर्षकले दर्शकलाई चित्रको गहिराइमा प्रवेश गर्ने चाबीको काम गर्छ । त्यो चाबी नै नदिई दर्शकलाई अलपत्र छोड्नु न्यायोचित होइन ।
समग्रमा, संगी श्रेष्ठको ‘अन्तर्दृष्टि’ कलात्मक चेत, शिल्प र साधनाका हिसाबले नेपाली कला जगत्को एउटा महत्वपूर्ण र हेर्नैपर्ने प्रदर्शनी हो । क्यानभास र माटोको यो संगमले उनको कला यात्रालाई नयाँ उचाइमा पुर्याएको छ । कला उत्कृष्ट छ, तर कलासम्म पुग्ने बाटो र वातावरण सुध्रिनु आवश्यक छ ।
नयाँ पत्रिकामा प्रकाशित →
संगी श्रेष्ठको ‘अन्तर्दृष्टि’ कलात्मक चेत, शिल्प र साधनाका हिसाबले नेपाली कला जगत्को एउटा महत्वपूर्ण र