कार्टुनिस्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने भएका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा बिहीबारदेखि
काठमाडौँ — कार्टुनिस्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने भएका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा बिहीबारदेखि 'डिपेक्सन' शीर्षकमा १० दिने प्रदर्शनी गर्ने भएका हुन् ।
१७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनहरुमा करिव ३ हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रको यो पहिलो एकल प्रदर्शनी हो । 'पत्रपत्रिकामा प्रकाशित भएका विभिन्न काटुर्न मध्ये केही यस प्रदर्शनीमा राखिने छन्, जसलाई मैले डिपेक्सन नाम दिएको छु । डिपेक्सन मैले देखेको नेपाली समाजको चित्र हो । प्रदर्शनीमा राखिने अधिकांश कार्टुनहरू विभिन्न पत्रीकामा प्रकाशित भईसकेका छन्, 'उनले भने, 'कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यक हुँदोरहेछ । पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनी मार्फत दोहोरो संवाद गर्न खोज्दै छु । कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ ।'
मिश्र कार्टुन आफ्ना लागि चित्रमात्रै नभइ विचार, भावना र हास्य व्यक्त गर्ने माध्यम रहेको बताउँछन् । 'वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने विधि हो कार्टुन । मेरा लागि कार्टुन समाजसँग अन्तरक्रिया गर्ने माध्यम हो । अन्तरक्रिया मजेदार होस भनेरै म कार्टुन लिएर यहाँ आएको छुँ, 'उनले भने, 'वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु म कार्टुनमा । वर्तमानका कतिपय घटना, परिवेश, पात्र, प्रवृत्ति र विचारसँगको असहमति पनि हुन् मैले बनाउने कार्टुन ।'
उनी अखबारका कोलममा नअटाएका कार्टुनाईसमेत प्रदर्शनीमा प्रस्तुत गर्ने तयारीमा छन् । मिश्र 'कार्टुनिष्ट क्लब अफ नेपाल'का महासचिवसमेत हुन् ।