म त ढुङ्गा भएकी छु
"तिम्रो आवाज त भिन्नै सुनिन्छ, सन्चो त छ नि ?"
मैले उनको पहिलो फोन मिस गरेको थिएँ । मलाई धेरैले फोन उठाउँदैन भन्ने आरोप लगाउँछन् । अर्को आरोप चाहिँ, कल ब्याक पनि गर्दिन भन्ने हो ।
मैले तुरुन्तै कल फर्काएँ ।
"हेल्लो बैनी" मैले भनेँ ।
"हेल्लो दाइ, बिजी हुनुहुन्थ्यो ?"
उनको आवाज सँधै भन्दा फरक सुनिन्थ्यो । के भएछ भन्ने सोँच्दै "होईन होईन, म भर्खरै कामबाट आएर फ्रेश हुँदै थिएँ " भनेँ ।
"अनी संचै हुनु हुन्छ ?" उनको आवाज अघिको भन्दा अझै कमजोर सुनियो ।
"तिम्रो आवाज त भिन्नै सुनिन्छ, सन्चो त छ नि ?"
"दाइ, मलाई मात्रै किन यस्तो हुन्छ ?" उनी रोइन् ।
"किन के भयो ? नरोऊ त । के भयो भन ।"
"बजै बित्नु भयो दाइ " भन्दै उनी भक्कानिइन् ।
फोनमै उनी यसरि रोएपछि मैले कसरी सम्झाउने भनेर जानिनँ ।
लक्ष्मी बैनी सँग मेरो भेट आएल्ट्सको क्लास गर्ने बेलामा भएको थियो । यहाँ आइसकेपछि भेट भयो , सँजोगले । ट्रेनमा । म नयाँ थिएँ, उनी मभन्दा पहिले आएकी रै'छन् ।
त्यो दिनदेखि हामी एकअर्कालाई कम्तिमा फोन भने गरिरहेका हुन्छौँ । उनी मायालु छन् , नजिक छन् ।
नयाँ काम भयो भने, कलेजको कुराहरु, कामका तितामीठा कुराहरु, घर सरेको कुराहरु, डक्टरको मा गएको कुराहरु सुनाउँछिन् । बरु मैले त्यति फोन गरिरहेको हुन्न, तर उनी मलाई सबै बेलामा सम्झन्छिन् । सँधै एउटा प्रश्न चाहिँ सोधिरहन्छिन्, "दाइ, कहिले बिहे गर्ने ? भाउजूसँग कहिले भेटाउने ?"
पोहोर उनको घरमा यस्तै दु:खद घटना भएको थियो । बाबा बित्नु भएको थियो ।
मा उनको कुरा सुन्दै थिएँ , चुपचाप तर केहि भन्न खोजेको जस्तो गरेर ।
मैले भनेँ,"अब जे हुनु त भैसक्यो । चिन्ता नलिऊ । आफुलाई स्ट्रङ्ग बनाऊ । हामी यति टाढा छौँ, अनि हाम्रो हातमा केहि पनि त हुँदैन ।"
"होइन दाइ, आएको पनि पाँच वर्ष भैसक्यो । पहिला पढाइ भ्याएर जाउँला भनेँ, त्यसपछि अब पि.आर अप्लाई गरेर जाउँला भनेँ , अनि सँधै केहि न केहि बहाना बन्छ, आफ्नै घर जानलाई पनि । बजैसँग अँस्ती भर्खरै कुरा हुँदा कहिले आउँछेस् भन्नु भएको थियो । मैले अर्को वर्ष आउँछु भनेँ । आज बिहान त फोन आयो, मैले ढाँटेजस्तो भयो । मलाई सोध्दै हुनु हुन्थ्यो रे बित्नु अगाडि पनि ।"
"आफूलाई दोषी ठान्नु हुन्न । सबैको बाटो त्यही त हो नि ।"
"होइन दाइ । म त ढुङ्गा भएकी छु । किन हो थाहा छैन ।"
"त्यस्तो नभन । त्यो त सबैलाई हुन्छ ।"
"सबैलाई हुन्न दाइ । सबैजनालाई यस्तो बाध्यताहरु हुन्न । हामी बाहिर आउनुपर्ने बाध्यता हुनेहरुलाई मात्र हो । सबै कुरा नेपालमै हुने हो भने, यहाँ आएर यसरि आफैलाई किन धिक्कार्नु पर्ने थियो र ?"
"कस्तो हुनुहुन्थ्यो बज्यै ?" बज्यैको कुरा गर्दा बरु अलि हल्का होला भनेर मैले सोधेँ । "उमेर त भैसकेको थियो, तर मेरो इच्छा थियो, अर्को वर्ष गएर भेट्ने । त्यो ममतामा फेरी भिज्ने । गाउँको घर जाने, घुम्ने । यो सबै चीजबाट टाढा केहि समयलाई भए'नी । कती समय कस्तो हुने रै'छ भने, पैसाको लागि मरिमेटेको नभएपनि परिस्थिती नै त्यस्तो हुने । यसरी कती समय बस्ने ?" यती भन्दा उनको आवाज अलि शान्त हुँदै थियो । मलाई केहि सहज महसुस भयो ।
त्यसैले पनि आफ्नो दु:ख सुख बाँड्नु पर्छ भनिएको होला । यस्तो परिस्थितिबाट कुनै न कुनै समयमा हामी सबै गुज्री रहेका हुन्छौँ । साथी सँगिलाई पिरेर कोही चाहिँदैन भनेर बस्ने मान्छेहरु यस्तो बेला के गर्छन होला ?
"ल दाइ, हजुर्सँग कुरा गरेर अलि मन हल्का भयो । मैले मुड नरमाइलो गरिदिएँ भने पनि गाह्रो नमान्नु होला ।" उनले माफी मागिन् ।
"त्यस्तो किन भनेको ? तिमीले बरु ठिक गर्यौ यसरी आफ्नो कुरा शेयर गरेर । धेरै नपिरोलिनु । सबै ठिक हुन्छ, नआत्तिनु नि है" भनेर मैले फोन राखेँ ।
साँझ ढलिसकेको थियो, मेरो कोठाको मैन बालेँ ।
निलो रँगको त्यो मैन बल्यो । सम्झिएँ, त्यो ती बैनीले नै मलाई उपहार दिएकी थिइन् ।
सोँचेँ, संसार छोडेकी बज्यैको नाममा त्यो दियो बालेँ , वहाँको आत्माको चीर शान्तिको लागि ।










