जीवन एक पटक मात्र पाइन्छ,मर्ने कुरा नगर ।
"के नचाहिने कुरा गर्या होला ?" उसले मेरो कुरालाई तुरुन्त प्रतिकृया दिँदै मलाई हपार्यो ।
"नेपालमा त सुनेको छु । यहाँ पनि त्यस्तो कोही छ कि भनेर पो सोधेको नि " मैले भनेँ ।
मलाई मरेका दुई तीन जनासँग कुरा गर्नु थियो । उनीहरुको आत्मासँग केही सोध्नु थियो । केही समय यता युवा उमेरका नेपाली साथीहरु मरेका छन् , अकालमै ।
कोही ड्रग्सको ओभर डोजले ।
"अनी ड्रग्सले मर्नु भनेको आत्महत्या गर्नु हो भन्ने तेरो कुराको तुक चाहिँ के नि ?" उसले मलाई सोध्यो ।
" आत्म भनेको आफु । हत्या भनेको किलिङ । ड्रग्स आफै खाएर रन्थनिँदै मरे पनि, सुतेको ठाउँमा सुतेको सुत्यै भने पनि, नशामा लट्ठिएर कतै गएर टाउको ठोक्काएर होस् य भिरबाट खसेर होस्, जीवन गयो भने कस्को कारण गयो ? आफ्नै कारण होईन ? अनि त्यो आत्महत्या नभएर के भयो ? सिम्पल् एज द्याट् ।"
चित्रगुप्त, यमराज र मेरो भेट भयो ।
"तिमी मानव आयु लिएर नै यहाँ आउनु हुँदैन " यमराजले भने ।
चित्रगुप्तले भनिदिए, "मैले सबैको हिसाबकिताब बुझाइदिएको छु । अब तिमी फर्केर जाऊ, पृथ्वीलोकमा ।"
तर मलाई त केहि प्रश्नहरुको जवाफ चाहिको थियो । "प्रभो, यहाँसम्म आइसके, ती अघि मैले भनेको दुई तीनजनासँग भेट गर्ने मौका मात्र दिनुहोस् ।"
"तर तिमीले हाम्रै उपस्थितिमा उनीहरुलाई भेट्ने छौ । नो प्राइभेट टक्, ओके ?" चित्रगुप्तले भने ।
उनीहरुलाई एकजना द्वारेले लिएर आयो । स्वर्गबाट आए कि नरकबाट मलाई थाहा भएन ।
यमराज र चित्रगुप्त दुबै त्यति खुशी देखिएका थिएनन् । यसरी जीवन आफै नष्ट गरेर आफ्नो आयु पुरा नजिएर उनीहरुको काम बढाइदिएको भएर उनीहरु दुबै रुष्ट देखिन्थे ।
मलाई पनि रिस उठेको थियो, उनीहरुले अरु धेरैलाई जीवनबाट भाग्न सिकाएका छन् तल पृथ्वीमा । जीवनमा राम्रो काम कसैलाई सिकाउन नसकेपनि नराम्रो काम सिकाउनु हुन्न भन्ने मेरो सोँच छ ।
मैले देब्रेतिर निकै पछुताएकोजस्तो देखिएको त्यो युवकलाई सोधेँ पहिलो प्रश्न ।
"तिम्रो परिवारमा को को छन ? मत्लब, को को थिए ?"
"आमा, बाबा, भाइ, बहिनी ।"
"किन मर्नु मन लाज्ञो त ?"
"मलाई मर्छु यति छिटो जस्तो लागेको थिएन । मेरो संगत गलत थियो । ममाथि मेरो परिवारको सपना थिए । मैले धेरै ठक्करहरु खाएको छु जीवनमा ।"
यमराजले बीचैमा उसलाई भने, "खाएको छु होईन, खाएको थिएँ भन् बालक ।"
"अँ, खाएको थिएँ । प्रेमिकाले धोका दिई, साथीहरु टाढा भए, म सम्हालिन खोज्दा खोज्दै पनि सकिन । अलिकती पैसा जम्मा भयो कि नशा सेवन गर्न मन लाग्ने भयो । एक रात म घरबाहिर आफैलाई धान्न खोज्दा खोज्दै बेहोस भएँ । त्यसपछी आँखा खोल्दा त यहाँ लाईनमा कुरिरहेको थिएँ चित्रगुप्त महाराजको अगाडि ।"
यमराजको अगाडिपट्टी ठुलो पर्दा थियो, सेतो रंगको । चित्रगुप्तले प्रोजेक्टर अन् गरे, अनि उसले आफ्नो परिवारलाई देख्यो ।
उसको घर शून्य थियो । आमा झोक्राएर बसेकी थिइन् । भाइ बहिनी धेरै नबोलिकन स्कुलबाट फर्किँदै थिए । उसको बाबा अब छोराले गर्ला, अनि बुढेशकालमा आरामले बसौँला भन्ने सोचेका थिए, फेरी काम गर्न लागेका छन् । काममा एकोहोरो टोलाएका छन् । साथीहरु आउँदै आमालाई सम्झाउँछन् । उसको फोटोमा एउटा माला छ ।
ऊ रुन थाल्यो, भक्कानिएर रोयो । 'आमा' भन्दा उसको आँशु तप्प झर्यो ।
प्रोजेक्टरबाट आएको त्यो दृश्य धमिलो हुँदै गयो ।
"हिँजो मात्रैको कुरा । मेरो आफन्त पर्ने एकजना बहिनी छन् । धेरै पहिला उनको दाजुले घरमै झुन्डिएर बारेको थियो । उनलाई हिँजो एकजनाले दाजुभाइ कति छन् तिम्रो भनेर सोधेछन् ।" मैले भन्दै थिएँ ।
चित्रगुप्तले फेरी म यहिँ देखाउँछु भनेर प्रोजेक्टरको बटन थिछे ।
त्यो प्रश्नको जवाफ दिन नसकेर ती बहिनी रोइरहेकी थिइन् ।
"यी बालिकाको दाजु पनि यतै कता छ, यमराजले भने ।"
"आफ्नो बहिनिलाई सम्झिएर त्यो केटो फेरी रुना लाज्ञो ।
मैले भनेँ," मृत्यु त एकपटक भएरै छोड्ने कुरा हो । कस्तो जीवन जिउने, अनि कहिले रोज्ने भन्ने थाहा नभए पनि कस्तो मृत्यु रोज्ने भन्ने कुरा मनुष्यको हातमा हुन्छ ।" मैले भनेँ ।
आमाको अगाडि मामाको बयान गरेँ कि जस्तो लागेर मैले पुलुक्क यमराजतिर हेरेँ, आखाको दाहिने कुनाबाट ।
"बिल्कुल सही । यो कुरा बुझ्नु पर्यो नि मनुष्य जगतले" यमराजले आफ्नो जुँगामा ताउ लगाउँदै भने । मैले अलि हल्का महसुस गरेँ ।
"ऊ, नेल्शन मण्डेला मरे । हामी पनि कति दु:खी भयौँ । कति मान्छे रोए । त्यो उनले रोजेको मृत्यु हो । अनि, त्यो टेररिस्ट थियो नि, ओसामा बिन लादेन , उसले पनि त्यस्तै मृत्यु रोज्यो । ऊ मर्दा को रोयो ? सबै खुशी भए । उसले पनि चाहेको भए असल मृत्यु रोज्न सक्थ्यो नि, होईन ?" यमराजले भावुक हुँदै भने ।
चित्रगुप्तले "टाइम अप्, अब अर्कोको पालो" भने ।
"तिमीले त झन् कस्तो नराम्रो छाप पो छोडेर आएका छौ, थाहा छ ?" मैले भनेँ ।
ऊ झोक्राएको थियो, उसको घाँटीमा गोलो डाम थियो, कसिलो मालाजस्तो भएर ।
"यस्ता हाम्रो रेगुलर टाइमटेबल खलबल गर्नेहरुको लागि धेरै टाइम छैन हामीसँग, हेर । बरु म उसको पनि भिडियो देखाइदिन्छु" चित्रगुप्तले फेरी प्रोजेक्टर अन् गरे ।
निकै जोशिलो उमेरको त्यो केटोले केहि लेख्दै छ । त्यो त सुसाइड् नोट पो रहेछ । साथीहरुले उसको ढोका फोरेर भित्र पसे, सबैजना अत्तालिए । टृपल जिरोमा फोन गरे, पुलिस आयो, सबै जम्मा भए । उसको एकदम मिल्ने साथीले त्यो नोट् हेर्यो, 'ब्लडी फेशन्' भन्यो । कसले शुरु गरेको होला यस्तो लेख्न ? भने पछि त आत्महत्या गर्ने कुरा पनि त कोही न कोहिबाट सिकेको रै'छन् नि त मान्छेले ।
'सरी मामु, सरी बुवा ' लेखिएको थियो त्यो कागजमा ।
उसको साथीले नेपाल फोन गर्यो, आमाले फोनमा यो सुन्ने बित्तिकै मुर्छा खायिन् । फोनको रिसिभर स्पृङ वाला तारमा टेबुलमुनी झुण्डियो, आमा भुइँमा ढलिन् ।
यो सबै हेरिरहेको यो केटोले आफ्नो घाँटीको त्यो डाममा हात पुर्यायो । समय फर्काउन सक्ने भए फर्काउँथ्यो जस्तो गर्यो ।
चित्रगुप्तले रिमोटले त्यो दृश्य रोके, स्किप गरे ।
उसलाई छट्पटी भयो, आमालाई कसैले देख्यो कि देखेन, हस्पिटल लाग्यो कि लगेन भनेर ।
अर्को हँसिलो केटो देखियो ।
"चिन्छौ यो बालकलाई ?" यमराजले मलाई भने ।
"उसलाई क्यान्सर भएको छ । मैले मेरो दूत पठाएको थिएँ उसलाई लिन । अनि फेरी हेरेँ, ऊ त जीवनसँग रमाइरहेको थियो, मृत्युसंग लड्ने साहास देखायो, म बाँच्न चाहन्छु भन्यो । उसको विलपावर देखेर म हारेँ । अनि मेरा दूतहरुलाई फिर्ता बोलाएँ , उसलाई छोडिदेउ अहिले भनेर । यसरी जीवन रोज्नेलाई त हामी सम्मान गर्छौँ । अर्को राम्रो कुरा थाहा छ ? उसले आज भोली सबैलाई ज्ञानगुणका कुरा गर्छ । लजाउँदैन, हिम्मत दिन्छ सबैलाई । 'म पनि क्यान्सरसँग लडेर बाँचेको मान्छे हुँ, नडरऔनुस ' भन्छ समारोहहरुमा गएर ।" यमराजले मेरो अगाडि उसको बयान गरे । अनि मैले फेरी मनमनै "मलाई थाहा छ, के बयान गरिरा ?" भनेँ ।
"तिमीलाई भनेको होईन, यी दुइजनालाई भनेको" यमराजले मलाई भने । मैले सोँचेको कुरा थाहा पाएछन् ।
"जीवन अमुल्य कुरा हो । यसलाई सकेसम्म प्रयोग गर्नु पर्छ, राम्रो कामका लागि , अरुलाई पनि प्रेरित गर्नु पर्छ । यसलाई बेकारमा फाल्नु हुन्न । एकपटक नासियो भने त सकियो, फेरि पाइँदैन । त्यसैले 'एकबारको जुनी' भन्ने गीत बज्छन् नि " चित्रगुप्तले भने ।
"मलाई माफ गर्दिनुस्" भन्दै ती दुइजना यमराजको पाऊ परे ।
"अब केहि हुन सक्दैन, बालक हो । तिमीहरुले जीवनलाई एकै पटक पनि महत्वको साथ हेरेको भए, मैले पहिले नै चान्स दिन्थेँ । तिमीहरुले त आफ्नो नजरबाट मात्रै हेर्यौ, अरुको नजरबाट पनि हेर्नु पर्छ । त्यसरि फाइनल डिसिजन लिनु हुन्नथ्यो ।" यमराजले भने ।
"ला समय सकियो । अब तिमी फिर्ता जाऊ" चित्रगुप्तले मलाई भने ।
"यमराजले सबैलाई जीवनको भर्पुर प्रयोग गर्नु, अनाहकमा नमर्नु, जीवन भनेको सुन्दर वरदान हो, जिउनु पर्छ । खराब संगत गर्ने, आत्महत्या गर्ने गर्नु हुन्न भनेको छ भनेर सबैलाई भन्देउ है । साना तिना दु:खले आत्तिनु हुन्न, त्यो पनि भन्देऊ" भने मलाई ।
अरु पनि केहि भन्दै थिए, उनको फोन आयो । उनले फोन उठाए अनि हेलो भने ।
उनी बोलिरहेका थिए । तर फोनको घण्टी बजी रह्यो । लगातार घण्टी बजिरह्यो ।
मैले आँखा खोलेँ, मेरो मोबाइलमा पो अलार्म बजेको रै'छ । बिहान भैसकेको थियो ।