मैले मेरो भिजेको कपाल पुछेँ । बसको ढोकानेर बसेकी एउटी भोटिनी दिदीले भनिन् "राम्रो बुढी पाएस है ।” मैले मुसुक्क हाँसेर धन्यवाद भनेँ । “हुन्छ , हस्” भन्न अली अप्ठ्यारो । पोखराको झरिको के कुरा ? अचानक पानी पर्न सुरु भयो । लेकसाइडबाट माइक्रो बस चढें , घर जान । झम्झम् पानीमा दगुर्दै गाडी रोक्न हात हल्लाइन् एउटी महिला । माइक्रोबस रोक्यो, उनी चढिन् । बस कन्डक्टरलाई बाटो छेउको एउटा पसलतिर हात देखाउँदै आफ्नो सामान त्यहाँ छ भनिन् ।
कन्डक्टरले भन्यो – “लिएर आऊ । ”
जवाफ आयो – “मैले बच्चा समाउन पर्छ । ”
पानी छेक्न रैछ,उनी बस चढेकी ।
बाहिरको पानीले बसको सबै झ्यालको सिसा बाफिएको थियो । मैले हत्केलाले सिसा पुछेर बाहिर हेरेँ । हिलो पानीको भल बगेको थियो नालामा । त्यो नाला पारी भएको सानो पसलको अगाडि दुईवटा बोराहरु थिए । एउटा ठुलो,अर्को अलिक सानो । अनी बोराको आड्मा एउटी सानी बच्ची तिखा आँखाले बसको ढोकातिर हेरिरहेकी ।
आमालाई कस्तरी हेरेकी ? मैले सोँचे ।
“जाउँ जाउँ गुरुजी" त्यो कन्डक्टर करायो, सामान लिन नगईकन । उस्लाई सामान लिन जाँदा भिजुंला भनेर डाढ लागेको थियो,शायद। उस्ले जेल लगाएर अगाडि कपाल ठडाएको थियो ।
मैले भनेँ – “म ल्याइदिन्छु । ”
म बसबाट ओर्लिएं । फुत्त त्यो सानो नाला फड्किएं । ती महिला पछी पछी आइन् । ठुलो चाहिं बोरा उचालेर अघिको जस्तो फुत्त नाला फड्किन असजिलो भयो । मेरो देब्रे खुट्टा नालीमा पर्यो । अघिनै अलि-अलि भिजेको मेरो जिन्सको फेंद् लचरप्पै भिज्यो । मेरो पछि पछि उनी आइन्, बच्चालाई छातीमा च्यापेर । त्यो कन्डक्टर खुरुर्र दौडेर सानो बोरा लिएर आयो । त्यो देखेर म बसभित्र सामान छाडेर भित्रै बसें ।
"सक्कि त गयो नि" मैले सोचें, कति सजिलो !
ढोकानेर एउटी भोटिनी दिदी बसेकी थिइन् । उनले मलाई यती सानो कामको लागि आशिश दिएकी थिइन् ,”राम्रो बुढी पाएस है ” भनेर । उनले त्यसो भन्दा उनको एउटा सुनको दाँत देखिएको थियो ।
म फुरुङ भएको थिएँ । म मुसुक्क हासिदिएँ , त्यो झन सजिलो थियो ।
सानो चाहिँ बोरा ढल्किएर पल्टियो । बोराबाट हरियो मकै, फर्सी अनि बोडी निस्कियो ।
अनि बाहिर निस्कियो उनको आफ्नो कथा ।
“म माइत गएर आएकी हुँ" उनले सुनाइन् ।
"यत्रि छोरी पनि बोकेर आउनु छ, बुढो भनेको यहाँसम्म लिन पनि आएन ।"
ड्राइभरले सोध्यो, "फोन गरेर बोलाउन पर्दैन त लिन ?”
“लाज लाग्यो होला नि दिउंसो बोरा बोक्न । ”
“त्यसो भए त खाली हात पो आउनु पर्छ माइतबाट्। ” कन्डक्टर बीचमा प्वाक्क बोल्यो ।
“के को खाली हात आउनु नि ? अझ गहुँ पनि ल्या भन्दै थियो, के को ?”
कुरै कुरामा उनको ओर्लने ठाऊं आयो । नजिकै रैछ ।
उनले ब्लाउजभित्र छातीमा हात घुसाएर दस रुपैयाको नोट् निकालिन् ।
ड्राइभर चिच्यायो,"भाडा नलिइ केटा ।"
उनी खुशी भइन् । उनको अनुहारमा त्यो खुशी देखेँ । उनी ओर्लिइन्, बच्चा च्यापेर ।
अघिनै आफुले बोरा फ्यात्त फाल्दा बोरा पल्टिएको भएर होला, गाडी रोकिए पछि कन्डक्टरले बिस्तारै रोडको छेउमा बोराहरु राखिदियो । उसको ब्यवहार अहिले फरक थियो, उसले पानी परिरहेको वास्ता गरेन ।
गाडी अगाडि बढ्यो । मैले फेरी बाफिएको सिसा पुछेर पछाडि हेरेँ । ती बोराहरु पल्टिएनन् । उनले छोरीलाई छातीमा चपक्क टांसेकी थिइन्
अलि अगाडि गएपछि सुनको दाँत देखाएर हाँस्दै ती दिदी पनि ओर्लिइन् ।
अलि अगाडि गएर म पनि ओर्लिएँ । म टाउको दुईटा हत्केलाले छेल पार्दै घरतिर भागें ।