मिनी, काबुलिवाला र फ्लाईट्स टु नेपाल
"दाइ, तपाईंलाई काबुलिवालाको कथा याद छ ?" भाइवरमा च्याट गर्दा उसकी बहिनीले उसलाई सोधी ।
स्कुल पढ्दाको कथा हो भन्ने उसलाई याद थियो । काबुलबाट आएको मान्छेलाई काबुलिवाला भनिन्छ भन्ने कुरा पनि उसले यो कथाबाटजानेको थियो । कथामा मिनी भन्ने एउटी बच्ची पनि छ, त्यो उसले बिर्सिसकेको थियो ।
उसको किताब पढ्ने बानी छ, तर पढेको कुरा धेरै समयसम्म सम्झिँदैन ।
साथीहरु याद हुँदैन भने पनि किन पढ्छौ भनेर गिज्जाउँछन् पनि, तर ऊ केहि जवाफ नफर्काई पढ्न भने छोड्दैन । अन्य नै बेला मौकाछोपेर साथीहरुलाई पनि पढ्न हौसाउनको लागि भन्छ,"लेखिएको सबै कुरा पढियोस् भनेर लेखिएको हुन्छ ।" उसले सँधै एउटै रमाइलो कथादोहोराउँछ ।
कामबाट ब्रेकमा दिउँसो घाम ताप्दै पार्कमा लन्च गर्नेबेला एक दिन कोकको क्यानमा 'कान नजिक लगेर सुस्तरी यो क्यान खोल्दा बाहिरआउने खुसी सुन्नुहोस्' भन्ने लेखेको देख्यो रे । त्यस दिनपछि जहिले पनि कोकको क्यान खोल्दा कान नजिक लगेर क्यानको फिस् फिस्आवाज सुनेर मज्जा लाग्यो रे । 'नपढेको भए त्यो मज्जा कहाँ पाउँथेँ ?' भनेर सोध्छ । त्यसैले लेखिएको सबै कुरा पढिनको लागि लेखिएकोहुन्छ भन्ने उसको गहिरो बिश्वास छ ।
बहिनीलाई उसले जवाफ लेख्यो, “अँ याद छ, रविन्द्रनाथ टैगोरको ।"
बहिनी अफ्लाईन भैसकेकी थिई । जवाफ आएन ।
उसका भाइ बहिनीहरु नै उसका साथी थिए । नयाँ ठाउँमा सानोमा बसाईं सरेपछि ऊ भाइ-बहिनीसँग बढी खेल्थ्यो, नयाँ साथीहरुसंग भन्दा। चौबिस वर्षको हुँदा ऊ अष्ट्रेलिया छिर्यो, सपनाहरु बोकेर । परिवारलाई छोडेर ।
सपना उसको रंगिन् थियो । भन्थ्यो म गएपछि पैसा कमाउँछु, आमा बाबाले दु:ख गर्नु पर्दैन । भाइ बहिनीले पनि सुख पाउनेछन् । सानोचिटिक्कको घर पनि बनाउँछु अनि सबै त्यहाँ खुसी भएर बस्ने ।
"मलाई काबुलिवालाको कथा भन्नुस् न ।" बहिनीको जवाफ आयो ।
"हुन्छ, तर भोलि मात्रै ।" उसले लेखेर पठायो । त्यो राति सुत्ने बेला उसले काबुलिवालाको कथा खोजेर पढ्यो । कथा पढ्दै गर्दा ऊ पटक पटक रोकिँदै गहिरो सोँचमा डुब्थ्यो ।
उसले त्यो कथा पढेको लिङ्क नै पठाउन खोज्यो । फेरि सोँच्यो, होईन म नै लेख्छु । अनि कम्प्युटरमा टाइप गर्यो, किनकि कथा लामो थियो अनि मोबाइलमा टाइप गर्नु कठिन हुन्थ्यो ।
काबुलको पहाडदेखि ब्यापार गर्न आएको रेहमत झोलामा सामान बोकेर घरघर डुल्दै बेच्छ । मिनी पहिला ऊसँग खुब डराउँछे ।काबुलिवाला उसलाई खाने कुराहरु दिन्छ । पछि यी दुई साथी हुन्छन् । ऊ सँधै समय निकालेर मिनीसंग खेल्न आउँछ । कथा सुनाउँछ । बोलेर कहिले नथाक्ने सानी मिनीको कुरा ध्यान दिएर सुन्छ ।
ऊ मिनीलाई गिज्याउँदै सोध्छ,"तिमी कहिले ससुराली जाने मिनी ?" मिनी उसलाई उल्टै सोध्छे,"किन ? तपाईं पनि जाने हो ?"
उधारोमा सामान बेचेको मान्छेसँग पैसा माग्दा एकदिन उसको झगडा हुन्छ, अनि उसलाई पुलिसले समातेर लगेको देख्छे मिनीले ।मिनीलाई देखेपछि ऊ अलि हँसिलो हुन्छ ।
"काबुलिवाला, तपाईं ससुराली जाँदै हो ?"
आठ वर्षपछि जेलबाट छुट्छ काबुलिवाला ।
यत्तिकैमा उसले आफु नेपाल छोडेको साल सम्झ्यो । औँला भाँचेर गन्न लाग्यो, ठ्याक्कै आठ वर्ष भएछ । रोक्कियो, अनि मनमनै भन्यो, "कस्तो संजोग्, ठ्याक्कै आठ वर्ष "
आठ वर्षपछि जेलबाट छुटेर सिधै मिनीलाई भेट्न आउँछ काबुलिवाला । आठ वर्षमा मिनी बुझ्ने भैसकेकी हुन्छे, उसका नयाँ साथी-संगीहुन्छन् । मिनीको बाबुले अर्को दिन आऊ, आज घरमा बिशेष कार्यक्रम छ भन्छ । काबुलिवालाले सानी मिनीलाई दिनुस् है भन्दै उसलेमिठाई दिन्छ ।
मिनीको बाबुले उसलाई पैसा दिन खोज्दा काबुलिवाला भन्छ,"मेरो पनि काबुलमा मिनी जत्रै एउटी सानी छोरी छ, मिनीको अनुहारमासँधै उसलाई देख्छु । त्यसैले त मिनीलाई भेट्न आउँथे सँधै ।"
"जानु भन्दा अघि एकपटक बच्चीलाई भेट्न पाउँदिन ?" भनेर रुन्चे अनुहार लगाएर प्रश्न गर्छ ।
उसलाई अझै पनि मिनी बच्ची छे भन्ने लाग्छ, तर त्यो दिन उसको बिहे हुँदै थियो ।
मिनीको बाबुले मिनीलाई बोलाउन पठाउछ, दुलहीको भेषमा मिनी आउँछे तर पहिलेको जस्तो कुरा गर्दिन ।
अप्ठ्यारो मान्दै उसले सोध्छ, “तिमी ससुराली जान लागेको हो ?”
मिनीले जवाफ फर्काउँदिन । ऊ 'ससुराली'को अर्थ बुझ्ने भैसकेकी थिई ।
ऊ लजाउँछे, अनि बिहेको तैयारीतिर लाग्छे ।
अचानक उसलाई आफ्नी छोरी पनि ठुली भैसेकिछे भन्ने आभास हुन्छ, आफुलाई बाबु भनेर नचिन्ने पो हो कि भनेर झसंग झस्किन्छ । आफ्नी छोरीको अनुहार उसको आँखा वरिपरि आउँछ्, उसको आँखा रसाउँछन् ।
मिनीको बाबुले बिहेखर्चबाट कटाएर उसलाई तिमी पनि घर जाऊ अनि त्यो खुसीको आशिश मिनीलाई पठाऊ भन्दै केहि पैसा दिन्छ । काबुलिवाला जान्छ ।
उसले टाइप गरेको कथा बहिनीलाई पठायो । रात धेरै बितिसकेको थियो, ऊ बत्ती निभाएर बिस्तरामा पल्टियो । निदाउन सकेन । आमा बाबा आफुले छोडेको बेलाभन्दा बुढा बुढी भैसकेको महसुस भयो उसलाई । भाइ बहिनीलाई सम्झ्यो, उनीहरु पनि धेरै ठुला भैसके भन्ने बुझ्यो । देश छोड्नेबेलाका सपना सम्झ्यो । थोरै मात्र सपना पुरा भए, धेरै जहिँका त्यहिँ थिए, समय भने आफ्नै गतिमा दौडिँदै थियो । उसलाई लाग्यो, सपना भन्दा पनि मैले समय गुमाएँ । आफुलाई त्यही काबुलिवालासँग तुलना गर्यो ।
बहिनीलाई फेरि लेख्यो, "यो कथा किन सोधेकी मलाई ?"
उसले त्यो म्यसेज मेट्यो, पठाएन ।
कोल्टे फेर्यो, अनि गुगलमा टाइप गर्यो 'फ्लाईट्स् टु नेपाल'
गुगलले उसलाई उसका सपनाहरुभन्दा धेरै रोजाई दियो । ऊ देब्रे हातको बुढी औँलाले मोबाइल स्क्रोल गर्दा गर्दै निदाएछ ।
बुलशन (मेरो वरिपरिका कथा)