नयाँ परीक्षण नियमले नेपाली चिया निर्यात संकटमा, उद्योगी चिन्तित.
६ जेठ २०८३, बुधवार
भारतीय पक्षले लागू गरेको नयाँ परीक्षण व्यवस्थाका कारण नेपाली चिया निर्यात दुई सातादेखि प्रभावित बनेको छ। भारतीय चिया विकास निगमले अब प्रत्येक ट्रकमा छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि निर्यात प्रक्रिया झन्झटिलो र महँगो बनेको व्यवसायीहरूको गुनासो छ।
व्यवसायीका अनुसार नयाँ नियमअनुसार प्रत्येक ट्रकको परीक्षणका लागि करिब १८ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ। त्यति मात्र होइन, परीक्षण प्रतिवेदन आउन करिब १४ दिनसम्म लाग्ने भएपछि चिया ढुवानी नै रोकिएको अवस्था सिर्जना भएको बताइएको छ।
नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म जाने चिया निर्यातमा यसले प्रत्यक्ष असर पारेको उद्योगीहरू बताउँछन्। नेपालले वार्षिक रूपमा चियाबाट करिब पाँचदेखि छ अर्ब रुपैयाँसम्म आम्दानी गर्दै आएको छ। तर पछिल्लो व्यवस्थाले उद्योग नै संकटमा पर्ने अवस्था आएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
चिया व्यवसायीहरूले भारतीय पक्षको यो कदमलाई “गैरभन्सार अवरोध” को रूपमा व्याख्या गरेका छन्। उनीहरूले नेपाल सरकारलाई तत्काल कूटनीतिक तथा व्यापारिक संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्।
उद्योगीहरूका अनुसार निर्यात लामो समय अवरुद्ध भए चिया किसान, प्रशोधन उद्योग र श्रमिक सबै प्रभावित हुनेछन्। विशेषगरी पूर्वी नेपालका चिया उत्पादक क्षेत्रहरूमा यसको असर बढी पर्ने देखिएको छ।
सरकारले भारतसँग समन्वय गरेर सहज निकास खोज्नुपर्ने माग उद्योग क्षेत्रबाट बढ्दै गएको छ। अहिले व्यवसायीहरू चिया निर्यात सहज बनाउन दुवै देशबीच तत्काल वार्ता हुनुपर्नेमा जोड दिइरहेका छन्।
© अनलाइन न्युज पोस्ट .👍सेयर गर्नुहोस् ताकि अरू पनि अपडेट रहुन् .
Stay updated with the latest breaking news on politics, business, technology, sports, entertainment, and world events in real time.
















